११ भदौको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर ४ मंसिरको चुनावमा होमिने निर्णय लियो । दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले गरेका थप निर्णयभन्दा ओलीलाई थप स्थापित गर्ने ‘भावी प्रधानमन्त्री कार्ड’ चुनावी रणनीतिसँग जोडिएकाे छ ।
ओलीको लोकप्रियताको क्रेजकै कारण मत बढाउन सकिने विश्लेषण एमाले नेताहरूको देखिन्छ । अर्थात् एमाले नेताको ठम्याई कांग्रेस, माओवादी गठबन्धनलाई चुनौती दिन सक्ने ओली क्रेज रहेको छ ।
अर्को पक्षले भने सम्भावित वाम गठबन्धनमा ‘भावी प्रधानमन्त्री प्रचण्ड’ का लागि हुनसक्ने सहमतिमाथि लगाइएको तगारोको रूपमा पनि विश्लेषण गरिरहेको छ ।
भावी प्रधानमन्त्री भनेर केन्द्रीय कमिटीले चुनावी अभियान सुरु गर्ने निर्णय गरेको तेस्रो दिन पत्रकारसँग छलफल गर्दैछन्, ओली । एमालेकाे यो निर्णयलाई कतिपयले २२ वर्षअघिको चुनावसँग पनि जोड्ने गरेका छन् । २०५६ सालको चुनावमा एमाले अध्यक्ष मनमोहन अधिकारीको जुन क्रेज थियो, अहिले ओलीको त्योभन्दा बढ्ता क्रेज रहेको विश्लेषण भइरहेको छ ।
२०५१ सालको एमाले अल्पमतको सरकारका प्रधामनन्त्री अधिकारी तीन कारणले लोकप्रिय थिए । एक, आफ्नो गाउँ आफैँ बनाऊँ । दुई, वृद्ध भत्ता । तीन, नौ ‘स’ कार्यक्रम । २०५१ सालकाे अल्पमतकाे सरकारकाे त्यही लाेकप्रियताकाे बलमा एमाले २०५६ सालको आमचुनावमा होमिँदै थियो । अधिकारीकाे क्रेजलाई बोकेर चुनावी दौडाहामा थियो, जसले विभाजित एमालेलाई उल्लेख्य सिट दिलाएको पनि थियो । तर, चुनावअघि नै चुनावीसभामै बेहाेस भएका अधिकारीकाे उपचारका क्रममा निधन भएकाे थियाे ।
अधिकारी नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री थिए । उनको नेतृत्वमा एमालेले नौ महिना सरकार चलाउँदा धेरै लोकप्रिय र विकासको काम गर्ने प्रयासकाे सुरुवात गरेको थियो ।
एमालेले २९ वर्षअगाडि गरेको ‘कामको जस’ अहिलेसम्म लिइरहेकाे छ । उनै अधिकारीको नेतृत्वको सरकारले गरेको ‘कामको नारा लगाउँदै’ एमालेले अहिलेसम्म भोट मागिरहेकाे छ ।
ती अधिकारीको ‘क्रेज’
२२ वर्षअगाडि २०५६ सालको आमचुनावमा गुञ्जिने नारा थियो, ‘यसपालि त सूर्यमा छाप लगाउने, प्रधामन्त्री मनमोहनलाई बनाउने ।’ त्यो बेला नेता अधिकारीको ‘क्रेज’ एमालेभित्र मात्र होइन, कांग्रेस, राप्रपा र अन्य पार्टीमा राम्रो थियो ।
नेता अधिकारीले सरकारको नेतृत्वमा हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, प्रत्येक स्थानीय तहमा ५ लाख रुपैयाँ बजेट, ‘नौ स’को अभियान र ज्येष्ठ नागरिकलाई ५ सय रुपैयाँ वृद्धभत्ता वितरणजस्तो महत्त्वपूर्ण सामाजिक सुरक्षाको कार्यक्रम ल्याएका थिए । यी नै कार्यक्रमका कारण उनको क्रेज आमनागरिकमा ‘विकासप्रेमी नेता’का रूपमा स्थापित थियो भने एमालेभित्र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नौ स’को अभियानका कारण पनि उनी लोकप्रिय थिए ।
नौ महिना एमालेको सरकारको नेतृत्व गर्दा अधिकारीले देखाएको इमान, नेतृत्व र निष्ठालाई नेपाली राजनीतिमा विकासको खुड्किलोको रूपमा लिइएको साेही सरकारमा स्थानीय विकासमन्त्री रहेका नेकपा मालेका महासचिव सीपी मैनाली बताउँछन् । सरकार बनेपछि दिन रात सिंहदबारमै बसेर नीति तथा कार्यक्रम ल्याएको उनले अनुभव सुनाए । मैनालीको भनाइमा जनताले तिरेको करबाट कसरी जनताकै घरदैलोमा विकासको लहर सिर्जना गर्न सकिन्छ भन्ने दृष्टान्त नौ महिनाको कार्यकालमा देखाइएको थियो ।
शिलापत्रसँग कुरा गर्दै मैनालीले भने, ‘लोकप्रिय कार्यक्रमले कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोक कल्याणकारी काम गर्छ भन्ने उदाहरण प्रस्तुत भयो । स्व.नेता अधिकारीले प्रत्येक साता गोप्य रूपमा सबै मन्त्रीसँग कामको प्रगति विवरण माग्थे ।’
आमनिर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा २०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्याे चुनावमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।
अधिकारी ०४८ सालको आमचुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका उनी नेपालमा पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने ।
ओलीको ‘क्रेज’भन्दा प्रश्न धेरै
नेकपा एमालेका अध्यक्ष केपी ओलीको चर्चा २०७२ सालदेखि माओवादीसँग गठबन्धन सरकारको नेतृत्व गरेपछि सुरु भएको थियो । सविधानसभाबाट ‘सविधान’ जारी भएपछि भारतको नाकाबन्दीको चर्को विरोधी देखिएपछि ओलीको खास क्रेज बढेको हो । भारतसँग नझुकेको भन्दै राष्ट्रवादी नेता भनेर एमालेका कार्यकर्ताद्वारा ओलीलेको कद उचालियाे । सर्वसाधरणले पनि ओलीलाई राष्ट्रवादी नेताका रूपमा स्वीकार मात्र गरेनन्, आशाकाे किरणका रूपमा पनि लिए ।
नाकाबन्दीको विरोधबाट उचालिएको कदकै कारण ०७४ सालको चुनावमा ओलीको क्रेज खुबै थियो । त्यसमाथि वामगठबन्धनले ओलीलाई बलियो बनाएको थियो । त्यही क्रेजको बलले भावी प्रधानमन्त्रीको रूपमा ओली स्थापित थिए, भलै त्यतिबेला अहिलेजस्तो घोषणा भने भएको थिएन । अहिले एमालेले आउँदो चुनावमा ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारेर सहानुभूति मत तान्न खोजेजस्तो देखिन्छ ।
एमालेले दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दा उनीप्रति जनताको क्रेज बढ्ने एमालेका नेताहरूको बुझाइ छ ।
ओली नेतृत्वको अघिल्लो सरकारले गरेका काम र उनको व्यक्तित्वले चुनावमा प्रभाव पर्ने एमालेका उपमहासचिव प्रदिप ज्ञवाली बताउँछन् । उपमहासचिव ज्ञवालीले तर्क जे गरे पनि ०७४ सालको जस्तो ओली र एमालेको अहिले जनतामाझ क्रेज छैन ।
ओलीले दुईपटक गरेको संसद् विघटन, पार्टी विभाजनका लागि भूमिका खेलेका मात्र होइन, विभिन्न अनियमितताका घटना मुछिएको भन्दै छवि विवादित बनेको छ । आफ्नो गुटका कार्यकतालाई मात्रै अवसर दिएको र अन्यलाई पाखा पारेको उनीमाथि आरोप छ ।
जनताको काम गर्न नपाएर संसद् विघटन र पार्टी विभाजन भएको भन्ने छुट आउँदा चुनावमा ओलीलाई छैन । तर, एमाले यही भाष्य स्थापित गर्ने रणनीतिका साथ अगाडि बढेकाे छ ।
स्थानीय चुनावमा प्राप्त गरेको (३४ प्रतिशत) मतलाई कायम राख्दै अन्य सा–साना राजनीतिक दलसँग गठबन्धन गरे एकल बहुमत ल्याउने एमालेको दाबी रहेका छ । यसकै लागि राप्रपासँग चुनावी तालमेल गर्ने गरी छलफल भइरहेकाे छ ।
अहिले न त ओलीकाे क्रेज ०७४ काे जस्ताे छ, न त वातावरण नै अनुकुल । एमाले विभाजित छ, त्यतिबेला गठबन्धनमा रहेका माओवादी केन्द्र र जनमाेर्चा अहिले विराेधी गठबन्धनमा छन् । र, असंवैधानिक रूमा संसद् विघटन गरेकाे सर्वाेच्चले ठहर गरेकाे घटना छ । त्यसैले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका ओलीका अगाडि चुनाैतीका पहाड छन् । अहिलेकाे चुनावपछि एमालेकाे अवस्था २०६५ सालको सविधानसभा निर्वाचनमा जस्तो तेस्रो पार्टीको हौसियतमा झर्न सक्ने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
विश्वमा राजनीतिक र व्यक्तित्वमा छवि बनाएका व्यक्तिलाई ‘भावी प्रधानमन्त्री’का रूपमा सार्दा मतदाताको आकर्षण बढ्ने अभ्यासकै कारण ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको उपमहासचिव ज्ञवाली बताउँछन् । ‘राजनीतिमा आ–आफ्नो रणनीति हुन्छ । एमालेले पनि आफ्नो व्यक्तिलाई भावी प्रधानमन्त्री अघि सारेको हो । भावी प्रधानमन्त्री नै अघि सारेपछि जनता व्यक्तिसँग आकर्षित हुन्छन्’, उनले भने ।
प्रधानमन्त्री हुँदा ओलीले संसद् विघटन गरेकै मुद्दामा एमाले विभाजन भयो । जसका कारण गएकाे बैशाखमा भएकाे स्थानीय चुनावमा एमाले दोस्रो भएको विश्लेषण छ ।
माले महासिचव मैनाली भन्छन्, ‘नौमहिने कार्यकालमा भएको कार्यक्रमले नै एमालेलाई आजसम्म बचाएर राखेको छ । त्यसयता एमालेले सम्झिनलायक काम के गरेको छ ? नेता मनमोहनको जस्तो उदारवादी नीति ओलीमा छैन । २०७४ मा जस्तो ओलीको ‘क्रेज’ पनि अहिले छैन । ओलीलाई सत्ता लिप्तको आरोपसमेत लागेको छ ।’
मनमोहन र ओलीमा धेरै फरक छ । ओली विवादित नेता हुन् । मनमोहन विवादमा परेका थिएनन् । ०५६ सालमा मनमोहनलाई भावी प्रधामन्त्रीका रुपमा अघि सार्नु एमालेलाई सहानुभूति मत आउने आस थियो । त्यो बेला पनि एमाले फुटेको थियो । अहिले पनि एमाले फुटेर एर्कीकृत समाजवादी बनेपछि हालत उस्तै भएको उनको भनाइ छ ।